एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुन विद्यार्थीहरूको आकर्षण बढ्दै जाँदा केएमसी नेटवर्कअन्तर्गतको काठमाडौं मोडेल सेकेन्डरी स्कुल, बालकुमारी र बागबजारमा विद्यार्थी तथा अभिभावकको भीड लागेको छ। सोमबार दिउँसोसम्म मात्रै दुवै शाखामा गरी १३ हजारभन्दा बढी आवेदन परेको विद्यालयले जनाएको छ।
पाल्पाका पृथ्वीराज गैरे ३.७० जीपीएसहित म्यानेजमेन्ट अध्ययन गर्ने लक्ष्यसहित केएमसी पुगेका थिए। छात्रवृत्तिबारे जानकारी लिन आएका उनले सामाजिक सञ्जाल र सिनियर विद्यार्थीमार्फत केएमसीबारे जानकारी पाएको बताए। यस्तै, बाराका सुश्रित सोडारी पनि आईटी विषयप्रति रुचि राख्दै कम्प्युटर अध्ययनसम्बन्धी जानकारी लिन केएमसी पुगेका थिए। दुवैलाई विद्यालयका निर्देशक सुरेन्द्र सुवेदीले विषय छनोट र भविष्यका सम्भावनाबारे परामर्श दिएका थिए।
विद्यालयका अनुसार भौतिक र भर्चुअल दुवै माध्यमबाट विद्यार्थीहरूले परामर्श र आवेदन दिइरहेका छन्। अत्यधिक आवेदन परेपछि विद्यालयले प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गर्ने तयारी गरेको छ। निर्देशक सुवेदीका अनुसार मंगलबारका लागि १० वटा परीक्षा केन्द्र तोकिएको छ, किनभने धेरै विद्यार्थीलाई एउटै स्थानमा परीक्षा गराउन सम्भव छैन।
कक्षा ११ मा बालकुमारी शाखामा ७५० र बागबजार शाखामा २ हजार विद्यार्थीको मात्र क्षमता रहेको विद्यालयले जनाएको छ। त्यसैले योग्य विद्यार्थी छनोटका लागि इन्ट्रान्स परीक्षा लिन लागिएको हो।
केएमसीले सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक अभ्यासलाई पनि प्राथमिकता दिएको जनाएको छ। व्यवस्थापन, विज्ञान र कानुन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि विद्यालयमै प्राक्टिकल कक्षा सञ्चालन गरिन्छ। कानुनका विद्यार्थीका लागि ‘मुट कोर्ट’ अर्थात् नमुना अदालतको व्यवस्था गरिएको छ, जहाँ उनीहरूले अदालतमा हुने बहस र प्रक्रिया अभ्यास गर्न पाउँछन्।
विद्यालयमा इनोभेसन ल्याब र इन्क्युबेसन सेन्टरसमेत सञ्चालनमा रहेको छ। समयअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता प्रयोगात्मक संरचना निर्माण गरिएको विद्यालयले जनाएको छ।