काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण प्रभावित बनेको नेपाली चिया निर्यात कूटनीतिक पहलपछि पुनः सहज भएको बताए । उनका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयबीचको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेको हो ।
मन्त्रालयका अनुसार नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौंमा आयोजना हुनेछ । उक्त बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । साथै नेपालले नर्वे र स्विट्जरल्याण्ड सँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्ड का सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म ६ सय ८७ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ भने पछिल्लो दुई सातामा मात्रै ७१ जनाको उद्धार गरिएको छ । कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीलाई कानुनी सहायता उपलब्ध गराउन पहल भइरहेको तथा म्यानमारमा रहेका नेपालीहरूको रिहाइका लागि कूटनीतिक प्रयास जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच विदेशमा रहेका नेपालीलाई परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक मोफा मित्र एप आगामी जेठ १२ गते सार्वजनिक गर्ने तयारी गरेको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको मन्त्रालयले जनाएको छ । साथै राहदानी विभाग ले नयाँ राहदानी प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने बताएको छ । मन्त्रालयले संक्रमणकालीन अवस्थालाई सहज बनाउन पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन अनुरोध गरेको छ ।