काभ्रेपलाञ्चोक । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको एक सय ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कमलामाई नगरपालिका–९ भिमानस्थित बीपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा बा ४ ख ५५०० नम्बरको हायसमा सवार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी खत्रीका अनुसार श्रेष्ठले बोकेको रातो रङको झोलाभित्र रहेको काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक परीक्षणका क्रममा उक्त पदार्थ खैरो हेरोइन जस्तो देखिएको र मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । दैनिक उपभोग्य वस्तुभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने नयाँ शैली बढ्दै गएको प्रहरीको भनाइ छ । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान अघि बढाइएको छ भने सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।