पश्चिम एसिया युद्धको असर : हवाई इन्धन महँगिँदा आन्तरिक उडानमा यात्रु घटे

पश्चिम एसिया युद्धको असर : हवाई इन्धन महँगिँदा आन्तरिक उडानमा यात्रु घटे

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेपछि नेपालमा आन्तरिक हवाई टिकट महँगिएको छ । टिकट दर वृद्धि भएसँगै आन्तरिक उडानमा यात्रु संख्या घट्न थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा आन्तरिक उडानतर्फ कुल ३ लाख १७ हजार ९ सय ५४ यात्रुले सेवा लिएका छन् । अघिल्लो महिना मार्चमा यो संख्या ३ लाख ३५ हजार ६ सय ८३ रहेको थियो ।वायुसेवा कम्पनीहरूले इन्धन मूल्य वृद्धिका कारण भाडा बढाउनुपर्दा त्यसको प्रत्यक्ष असर यात्रु संख्यामा परेको बताएका छन् । Buddha Air का सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट एकै पटक झण्डै दोब्बर पुगेपछि टिकट दर बढ्नु स्वाभाविक भएको हो ।

उनका अनुसार हाल मलमासको समय, आन्तरिक पर्यटकको कम चाप तथा विदेशी पर्यटक संख्या उल्लेख्य नबढ्नुले पनि यात्रु घट्न सहयोग पुगेको छ ।विमानस्थल कार्यालयका अनुसार अप्रिल महिनामा १ लाख ६० हजार ६ सय १ यात्रु काठमाडौंबाट विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका छन् भने १ लाख ५७ हजार ३ सय ५३ यात्रु काठमाडौं आएका छन् । यस अवधिमा कुल ४ हजार २ सय ७२ उडान तथा ४ हजार २ सय ७० अवतरण भएका छन् ।

आन्तरिक उडानतर्फ सबैभन्दा धेरै यात्रु बोक्ने कम्पनीका रूपमा Buddha Air पहिलो स्थानमा रहेको छ । कम्पनीले एक महिनामा १ लाख ७२ हजार ८ सय ७६ यात्रुलाई सेवा दिएको छ ।दोस्रो स्थानमा Yeti Airlines रहेको छ । यतीले ७१ हजार २७ यात्रुलाई सेवा दिएको छ । तेस्रो स्थानमा रहेको Shree Airlines ले ५३ हजार ५ सय २१ यात्रुलाई सेवा दिएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै Nepal Airlines ले एक महिनामा १ हजार १ सय ४८ यात्रुलाई सेवा दिएको छ । Summit Air ले ५ हजार ६३, Tara Air ले ३ हजार ६ सय ९१ तथा Sita Air ले २ हजार ६ सय ४६ यात्रुलाई सेवा दिएका छन् ।यद्यपि अन्तर्राष्ट्रिय उडानतर्फ यात्रु संख्या भने बढेको छ । अप्रिल २०२६ मा अन्तर्राष्ट्रिय उडानमार्फत ४ लाख ५० हजार ५ सय ८२ यात्रुले सेवा लिएका छन् । मार्चमा यो संख्या ३ लाख ७५ हजार ६ सय ७४ थियो ।

अप्रिलमा २ लाख २६ हजार ४ सय ९७ यात्रु विदेश प्रस्थान गरेका छन् भने २ लाख २३ हजार ९ सय ८५ यात्रु नेपाल आएका छन् । यस अवधिमा १ हजार ४ सय ६१ अन्तर्राष्ट्रिय उडान तथा १ हजार ४ सय ५९ अवतरण भएका छन् । साथै १ सय यात्रुले ट्रान्जिट सेवा उपयोग गरेका छन् ।वसन्त ऋतु नेपालमा पदयात्रा र पर्वतारोहणको मुख्य पर्यटकीय सिजन भएकाले अन्तर्राष्ट्रिय यात्रु आगमन तथा प्रस्थान बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार