निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं । सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा पुगेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार बढ्दो वित्तीय दबाबका कारण यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द गरिनेछ । यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको हो ।निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएका छन् । आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ ।

हाल ३६ निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर वर्षौंदेखि भुक्तानी नपाउँदा निजी अस्पतालहरू असन्तुष्ट बन्दै आएका थिए । बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई हालसम्म करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।स्वास्थ्य क्षेत्रका जानकारहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउनेतर्फ पर्याप्त ध्यान नदिइएको आरोप लगाएका छन् । उनीहरूका अनुसार राजनीतिक रूपमा लोकप्रिय कार्यक्रमका रूपमा अघि बढाइएको बीमा योजनामा वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र प्रभावकारी अनुगमन कमजोर हुँदा अहिले कार्यक्रमकै अस्तित्व संकटमा परेको हो ।

निजी अस्पतालहरूले लामो समयदेखि बीमावापतको रकम भुक्तानी नभएको, दाबी प्रक्रिया झन्झटिलो बनेको तथा रकम अड्काइएको गुनासो गर्दै आएका थिए । कतिपय अस्पतालले यसअघि नै बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब बोर्डले नै सेवा स्थगन गर्ने निर्णय गरेपछि स्वास्थ्य बीमा कार्यक्रम थप संकुचनतर्फ गएको देखिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते बुधवार