पोखरा पृथ्वीचोक स्थित बसपार्क अगाडि नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन तथा विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ। यसअन्तर्गत सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा, हङकङ बजार अगाडि रहेका संरचना र सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयमा डोजर चलाइएको छ।
व्यवसायीहरूले रातिसम्ममा आफ्ना सामान उठाएर स्थान खाली गरेका थिए। ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समितिको जग्गामा भाडामा संरचना बनाएर संचालन गर्दै आएका थिए। नेकपानिकट मजदुर संगठनले भने पहिले नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी नगरपालिकालाई हस्तान्तरण गरिसकेको थियो।
नगरपालिकाले संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिएको थियो, जसको म्याद जेठ ९ गते सकिएको थियो। मेयर धनराज आचार्यले यस ठाउँको सडक चौडा गर्ने योजना रहेको बताएका छन्।