निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा राष्ट्रिय सभा बैठक स्थगित

निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक आइतबार कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो सुरु भए पनि शून्य समय सञ्चालनपछि सभाध्यक्ष नारायण दाहालले विशेष समय नराखिएको जानकारी दिँदै २० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

आजको कार्यसूचीमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम थियो। साथै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि आजै पारित गर्ने कार्यसूची रहेको थियो।तर, दुवै विधेयकमा परेका संशोधन प्रस्तावबारे दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो। राष्ट्रिय सभाका नेताहरूका अनुसार संशोधनका विषयमा सरकार र विभिन्न दलबीच संवाद जारी रहेको छ। सहमति खोज्ने प्रयासस्वरूप बैठक रोकिएको बताइएको छ।

यसैबीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेकी छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयकमा तीन–तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार