• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा, युवालाई सहभागी हुन आह्वान

धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा, युवालाई सहभागी हुन आह्वान

काठमाडौंधवलशमशेर राणा ले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट नेताहरूबीच भएको छलफलपछि उनले विज्ञप्ति जारी गर्दै आगामी राजनीतिक यात्राबारे जानकारी दिएका हुन्।

राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ अभियान अघि बढाउने निर्णय गरिएको बताएका छन्। उनले देशप्रेमी नागरिक, राष्ट्रवादी शक्ति तथा विशेषगरी युवा पुस्तालाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

विज्ञप्तिमा उनले राप्रपाभित्र आफ्नो पद वा जिम्मेवारीबारे कुनै उल्लेख गरेका छैनन्। साथै, विगत चार वर्षदेखि राप्रपालाई जनभावनाअनुकूल ढंगले अघि बढाउने प्रयास गरिए पनि अपेक्षित सफलता प्राप्त हुन नसकेको स्वीकार गरेका छन्।

“राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं। तर विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने–हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,” विज्ञप्तिमा उल्लेख छ।

राणाले राप्रपामा आबद्ध रहेर वर्तमान बाटोलाई नै सही ठान्ने साथीहरूलाई शुभकामना व्यक्त गर्दै कुनै वैरभाव नरहेको बताएका छन्। साथै, आफ्ना राजनीतिक मान्यता र लक्ष्यलाई स्पष्ट दिशा दिन चाहने राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार