काठमाडौं । उपचारका लागि भन्दै कारागारबाट निकालिएका एक कैदीलाई प्रहरीले होटलमा लगेर मासु, बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न दुई प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको छ।
घटना १ जेठको हो। केन्द्रीय कारागार सुन्धारा तथा जगन्नाथदेवमा ठगी मुद्दामा सजाय भोगिरहेका कैदी अनुप भण्डारीलाई उपचारका लागि सामाखुसीस्थित बिनायक अस्पताल लैजाने व्यवस्था गरिएको थियो। कारागार प्रशासनको पत्रका आधारमा नेपाल प्रहरीको अनाश्रित गुल्म, जगन्नाथदेवबाट प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई उनको सुरक्षाको जिम्मेवारी दिइएको थियो।
तर, उपचारका लागि अस्पताल लैजानुपर्ने कैदीलाई प्रहरीले सामाखुसीस्थित दीप सागर गेस्ट हाउसमा लगेको र त्यहाँ मासु, बियर सेवन गर्न तथा एक युवतीसँग करिब तीन घण्टा समय बिताउन दिएको आरोप लागेको छ।घटनाबारे सूचना बाहिरिएपछि आन्तरिक छानबिन गरिएको थियो। एसपी नरहरि रेग्मी नेतृत्वको टोलीले अनुसन्धान गरी प्रतिवेदन काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा बुझाइसकेको स्रोतले जनाएको छ।
छानबिनका क्रममा कैदी भण्डारीले समेत आफूलाई अस्पतालबाट गेस्ट हाउस लगिएको र त्यहाँ हतकडी खोलेर मादक पदार्थ सेवन गर्न तथा महिलासँग बस्न दिइएको स्वीकार गरेका छन्। प्रतिवेदनमा उनको भनाइ उद्धृत गर्दै अस्पतालमा डाक्टर आउन ढिलो हुने जानकारीपछि आफूलाई होटल लगिएको उल्लेख गरिएको छ।अनुसन्धानअनुसार उक्त समयमा प्रहरी सहायक हवल्दार कुँवर र जवान विक बर्दीमै हतियारसहित उपस्थित थिए। तर, उनीहरूले कैदीको हतकडी खोलेर होटलमा राखेको तथ्य फेला परेको छ।
छानबिन समितिले कैदी सुरक्षाजस्तो संवेदनशील जिम्मेवारीमा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै दुवै प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरेको छ। प्रतिवेदनमा उनीहरूको व्यवहार प्रहरी आचरणविपरीत, गैरजिम्मेवार र अनुशासनहीन रहेको उल्लेख गरिएको छ।यता, बर्खास्ती सिफारिसमा परेका प्रहरी कर्मचारीहरूले पनि कैदीलाई होटल लगिएको, मासु–बियर सेवन गर्न दिइएको र युवतीसँग समय बिताउन अनुमति दिएको स्वीकार गरेको बताइएको छ।
घटनाबारे प्रतिक्रिया माग्दा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले आफूलाई जानकारी नभएको बताएका छन्।यस घटनाले सुन्धारा कारागारको सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठाएको छ। पछिल्लो एक महिनाको अवधिमा सोही कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फरार भएकी थिइन् भने महिला बन्दीगृहमा झडपको घटना पनि भएको थियो। लगातार भएका यस्ता घटनाले कारागार सुरक्षा प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।