काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँको मात्रा घट्दै जानु, हिमनदी तीव्र गतिमा पग्लिनु र मौसममा अस्थिरता बढ्दै जानुले पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालाहरू चिन्तित बनेका छन् । १८ पटक सगरमाथा आरोहण गरिसकेका फुर्वा तेञ्जिङ शेर्पाका अनुसार पहिले आधार शिविर नजिकै देखिने हिउँ अहिले निकै टाढासम्म हिँड्दा पनि भेट्न कठिन हुन थालेको छ । जलवायु परिवर्तनका कारण सगरमाथाको मार्गमा खुला चट्टान बढ्दै गएका छन् भने खुम्बु आइसफल क्षेत्रको बरफ संरचना पनि कमजोर बन्दै गएको छ, जसले आरोहणलाई थप जोखिमपूर्ण बनाएको छ । शेर्पाले सगरमाथा क्षेत्रमा फोहर व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको, विशेषगरी माथिल्ला क्याम्पहरूमा पुराना पाल, अक्सिजन सिलिन्डर र अन्य फोहर हटाउन कठिन भइरहेको बताए । उनले दक्ष शेर्पाहरूको विदेश पलायन र आरोहण कम्पनीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले भविष्यमा पर्वतारोहण क्षेत्र प्रभावित हुन सक्ने चेतावनी समेत दिएका छन् । विज्ञहरूले हिमाली क्षेत्रमा देखिएको परिवर्तनलाई गम्भीर रूपमा लिएर वैज्ञानिक अध्ययन, वातावरण संरक्षण, फोहर व्यवस्थापन र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार तथा सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।