काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्युतीय (इभी) गाडी आयातसँग सम्बन्धित विषयमा देखिएको शङ्का हटाउन संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इभी गाडी आयात प्रक्रियाबारे सत्यतथ्य सार्वजनिक गर्न छानबिन आवश्यक रहेको बताउँदै उक्त समिति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई विषय स्पष्ट पार्नका लागि आवश्यक रहेको बताए । उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारीसाधन आयात भएको र जेठ १४ गते करसम्बन्धी व्यवस्था पारित भएपछि २१ गते नै गाडी नाकाबाट भित्रिएको घटनाले शङ्का पैदा गरेको दाबी गरे । “१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दर हेरफेर नभनेर के भन्ने ?” भन्दै शाहीले सरकारले निष्पक्ष छानबिनमार्फत वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरे ।