सुरुङ्गा (झापा) — जिल्ला प्रहरी कार्यालय झापाले अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक विजय चौहानका अनुसार पक्राउ परेका प्रतिवादीमध्ये २० जनाको फैसला कार्यान्वयन हुँदा पाँच वर्ष तीन महिना छ दिन कैद सजाय तथा छ लाख रुपैयाँभन्दा बढी जरिवाना असुलउपर हुने छ। अदालतबाट सजाय तथा जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, शिवगञ्ज, बिर्तामोड, बैगुनधुरा तथा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले उनीहरूलाई घर तथा लुकिछिपी बसेका स्थानबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध सम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्। विभिन्न समयमा अदालतबाट कैद तथा जरिवानाको फैसला भए पनि उनीहरू फरार रहँदै आएका थिए। लागुऔषध मुद्दाका अधिकांश प्रतिवादीलाई दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म जरिवाना तथा केहीलाई कैद सजाय तोकिएको थियो।पक्राउ पर्नेहरूमा विजयकुमार भट्टराई, रणबहादुर विक, गणेश दुलाल, बादल राई, गोपाल रिजाल, सौजन्य किसान, सावित विक, राजकुमार महतो, ईश्वर गुरुङ, अजय लिम्बू, प्रवेश लावती, महेश रैवा, पुतमकुमार लगायत रहेका छन्।
लागुऔषध मुद्दाका प्रतिवादी मिलन घिमाललाई दुई वर्ष चार महिना ११ दिन कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। यस्तै बैंकिङ कसुर, चेक अनादर, नागरिकता किर्ते, चोरी तथा बहुविवाह मुद्दाका फरार प्रतिवादीहरू पनि पक्राउ परेका छन्।बैंकिङ कसुर तथा चेक अनादर मुद्दाका प्रतिवादी लिलाराज कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध बैंकिङ कसुरमा १० दिन कैद र तीन लाख ५० हजार रुपैयाँ जरिवाना तथा चेक अनादर मुद्दामा दुई हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला भएको थियो।
नागरिकता किर्ते मुद्दाका होमबहादुर मगरलाई एक महिना पाँच दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने चोरी मुद्दाका प्रतिवादी प्रदीप दङ्गडलाई ५०० रुपैयाँ जरिवानाको फैसला भएको थियो। बैंकिङ कसुरकै अर्को मुद्दाकी प्रतिवादी रोमादेवी गिरीलाई दुई दिन कैद र दुई लाख २० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।
बहुविवाह मुद्दाका जीवन इङ्दङ्गो र सविता श्रेष्ठलाई जनही एक वर्ष कैद तथा पाँच–पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा संलग्न जमुना देवी इङ्नाम, मञ्जु राजवंशी, नारदप्रसाद अधिकारी र अविरलाल राजवंशीलाई समेत पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काले अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्नु कानुनी शासनको महत्वपूर्ण आधार भएकाले फरार अभियुक्त पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको बताइन्। उनका अनुसार सजाय तोकिएपछि पनि फरार रहने प्रवृत्तिले न्याय सम्पादन प्रक्रियामाथि प्रश्न उठाउने भएकाले यस्ता अभियानलाई निरन्तरता दिइनेछ।