काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउमा उत्रिएका छन् । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्रीमाथि निरन्तर प्रश्न उठिरहेका बेला शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा पनि विपक्षी सांसदहरूले यो विषय उठाएका थिए । बैठकमा नेकपाका नेता वर्षमान पुनले आर्थिक विधेयकमा भएको भनिएको करका दर हेरफेर र सूचना चुहावटबारे जवाफ दिने क्रममा अर्थमन्त्रीले सांसदहरूलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप लगाए भने एमाले सांसद गणेशसिंह ठगुन्नाले अर्थमन्त्री व्यक्तिगत रिसइबीको शैलीमा प्रस्तुत भएको, ‘ननसेन्स’ जस्ता शब्द प्रयोग गरेको तथा अमर्यादित र धम्कीपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरे । विपक्षीहरूको आलोचनापछि रास्वपाका पराजुली र सुनारले अर्थमन्त्रीको बचाउ गर्दै आरोप–प्रत्यारोपभन्दा जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताएका हुन् । पराजुलीले अर्थमन्त्रीका केही अभिव्यक्तिले सांसदहरूको चित्त दुखाएको हुन सक्ने स्वीकार गर्दै परिस्थितिलाई पनि बुझ्नुपर्ने बताए । यस्तै, सांसद सुनारले अर्थमन्त्रीले आफ्नो स्पष्टीकरण दिइसकेको उल्लेख गर्दै एउटै विषय प्रत्येक दिनजसो उठाइरहनु राम्रो नभएको बताए । उनले करका दर हेरफेरसम्बन्धी त्रुटि विगतका अभ्यासअनुसार सभामुखले सच्याएको उल्लेख गर्दै एक व्यक्तिलाई लक्षित गरेर निरन्तर बहस गरिनु उचित नभएको धारणा व्यक्त गरे ।