भारतीय अवरोधका कारण इलामका चिया उद्योग भोलिदेखि बन्द हुने

भारतीय अवरोधका कारण इलामका चिया उद्योग भोलिदेखि बन्द हुने

काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असारदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएको र उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ। उद्योगीहरूका अनुसार जटिल गुणस्तर परीक्षण, अपारदर्शी नतिजा प्रक्रिया र भण्डारण सुविधाको अभावका कारण ठूलो परिमाणमा तयारी चिया थन्किएको छ। एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताउँदै भारतीय बजारमा पुगेको २ लाख किलोभन्दा बढी चिया भारतीय गोदाममै रोकिएको र नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया थन्किएको जानकारी दिए। भारतीय चिया बोर्डले परीक्षणका लागि लगिएको नमुनाको रिपोर्ट महिनौँसम्म नदिने तथा गुणस्तरहीन ठहरिएमा चिया भारतीय गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था गरेको भन्दै उद्योगीहरूले त्यसलाई अव्यावहारिक बताएका छन्। निर्यात ठप्प भएपछि चिया किसानलाई हरियो पत्तीको भुक्तानी दिनसमेत समस्या भएको जनाउँदै एसोसिएसनले यस्तो विषम परिस्थितिमा उद्योग सञ्चालन सम्भव नभएको उल्लेख गरेको छ। उद्योग बन्द हुँदा किसान, श्रमिक र व्यवसायीहरूमा पर्ने असरप्रति क्षमा माग्दै एसोसिएसनले समस्याको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार, राजनीतिक दल तथा सरोकारवालासँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार