भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको स्पष्टीकरण, ‘निजी जीवनको पुरानो भिडियो हो, भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउँदिनँ’

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको स्पष्टीकरण, ‘निजी जीवनको पुरानो भिडियो हो, भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउँदिनँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भएको आफ्नो भिडियोबारे स्पष्टीकरण दिएकी छिन्। मंगलबार बिहानदेखि कारको झ्यालबाट निस्किएर रमाइरहेको देखिने भिडियो व्यापक रूपमा फैलिन थालेपछि उनले उक्त भिडियो हालको नभई सार्वजनिक जिम्मेवारी सम्हाल्नुअघि व्यक्तिगत यात्राका क्रममा खिचिएको पुरानो भिडियो रहेको बताएकी हुन्। भट्टराईले भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित नभई निजी जीवनको सामान्य र सहज क्षण मात्र भएको स्पष्ट पार्दै त्यसलाई राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुने बताएकी छिन्। सार्वजनिक पदमा रहेका व्यक्तिप्रति नागरिकको चासो स्वाभाविक भए पनि निजी जीवनका सामान्य क्षण जिउने अधिकार सबैलाई रहने उनको भनाइ छ। साथै, भिडियोमा देखिएको व्यवहार ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिले उपयुक्त नहुन सक्ने स्वीकार गर्दै उनले सडक सुरक्षा र ट्राफिक नियमको पालना सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेकी छन्। विगतका यस्ता अनुभवबाट पाठ सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै उनले सम्पूर्ण नागरिकलाई पनि ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेकी छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार