एसियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न महरको माग

एसियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न महरको माग

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले बजेट अभावका कारण महिला खेलाडीहरू प्रतियोगिताबाट वञ्चित हुन लागेकोप्रति चिन्ता व्यक्त गरे । भिसा प्रक्रियाका लागि राहदानीसमेत संकलन भइसकेको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने उनको भनाइ थियो । प्रधानमन्त्रीको फेसबुक कभर फोटोमा महिला फुटबल टोलीको तस्वीर रहेको उल्लेख गर्दै महरले उक्त सम्मानलाई व्यवहारमा पनि उतार्न आग्रह गरे । प्रधानमन्त्रीले देखाएको विश्वास र सम्मान बजेट विनियोजनमार्फत प्रतिबिम्बित हुनुपर्नेमा जोड दिँदै उनले महिला खेलाडीहरूको तस्वीर केवल प्रचारका लागि नभई उनीहरूको खेल जीवनको विकास र सम्मानका लागि हुनुपर्ने बताए । साथै, अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलको टेलिभिजन प्रसारण हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थालाई ‘लुट’को संज्ञा दिँदै आम फुटबलप्रेमीले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा खेल हेर्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार