नवप्रवर्तनमा बजेट बढाउन तीनै तहका सरकारलाई मन्त्री पुनको सुझाव

नवप्रवर्तनमा बजेट बढाउन तीनै तहका सरकारलाई मन्त्री पुनको सुझाव

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी बढाउन सके देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आफ्नो पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्नुपर्ने सुझाव दिए। ‘इनोभेटिभ आइडिया’ भएका जनशक्तिलाई सिर्जनात्मक कार्यका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउनु नै नवप्रवर्तन भएको उल्लेख गर्दै उनले विगतमा अनुसन्धान गरेर कागजमै सीमित राख्ने प्रवृत्ति रहेको बताए। सरकारले औद्योगिकीकरण र अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राखेको भन्दै हालका लागि बजेटको एक प्रतिशत विनियोजन पर्याप्त हुने उनको धारणा थियो। नवप्रवर्तनलाई प्रभावकारी बनाउन आवश्यक कानुन, ऐन र नीति निर्माण गरिने जानकारी दिँदै उनले विज्ञान तथा प्रविधि तथ्याङ्क ऐनसहित विभिन्न विषयमा नौ वटा नियमावली तयार गर्ने तयारी भइरहेको बताए। साथै विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन, विज्ञान ऐन, राष्ट्रिय अनुसन्धान तथा विकास ऐन, आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐन तथा वैज्ञानिक मापन र मेट्रोलोजीसम्बन्धी ऐनलगायत आवश्यक कानुन ल्याउने योजना रहेको उनले बताए। मन्त्रालयको काम प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुन तर्जुमालाई प्राथमिकता दिइने उल्लेख गर्दै मन्त्री पुनले नवप्रवर्तनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै उद्योग विस्तार र देशको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै उनले नवप्रवर्तनको महत्वबारे नेपाली उद्योगी–व्यवसायीले पनि थप बुझ्न आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार