पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि शुक्रबार १९औँ नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्। ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणलाई लक्ष्य बनाइएको बजेटमा चालुतर्फ ५५.१ प्रतिशत र पूँजीगततर्फ ४४.९ प्रतिशत विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ वित्तीय हस्तान्तरण प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक तथा अन्य स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। राजस्व बाँडफाँटसहित महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
महानगरले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको बजेट कार्यान्वयनको समीक्षा पनि सार्वजनिक गरेको छ। चालु वर्षका लागि विनियोजित ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्म ३ अर्ब ३४ करोड ६ लाख ४३ हजार रुपैयाँ अर्थात् ४० प्रतिशत मात्र खर्च भएको छ। चालुतर्फ ६१.७ प्रतिशत खर्च भए पनि पूँजीगत (विकास) खर्च भने २४.२ प्रतिशतमा सीमित रहेको छ। त्यस्तै, ४ अर्ब ६१ करोड ४० लाख ५४ हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म २ अर्ब १२ करोड ३८ लाख रुपैयाँ अर्थात् ४६.०२ प्रतिशत मात्र संकलन भएको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण लक्ष्यको ७६.५ प्रतिशत प्राप्त हुँदा गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण भने लक्ष्यअनुसार शतप्रतिशत प्राप्त भएको महानगरले जनाएको छ।