काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन तथा अधिकार हस्तान्तरण प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रादेशिक समयमा धारणा राख्दै सांसदहरूले बजेट वितरण आवश्यकताका आधारमा न्यायोचित हुनुपर्ने, सङ्घीयता कार्यान्वयनका लागि कानुन, कर्मचारी र स्रोत–साधनको व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने तथा प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार र बजेट उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनीहरूले सुदूरपश्चिम, कर्णाली, मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न समस्या उठाउँदै विकास निर्माणमा ढिलाइ, कर्मचारी अभाव, चिया उद्योग बन्द, मानव विकास सूचकाङ्कको कमजोर अवस्था तथा वर्षायामअघि पुल र राजमार्ग निर्माणलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।