काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१६ अंकले घट्दै २६७४ अंकमा कायम भएको छ। यो करिब चार महिनायताकै न्यून स्तर हो। दिनभर बजार राताम्मे रहँदा कारोबार रकम पनि अघिल्लो दिनको ४ अर्ब ४४ करोड रुपैयाँबाट घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भयो। आज २२ कम्पनीको शेयर मूल्य बढ्दा २३९ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। क्षेत्रगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९२ प्रतिशतले घटेको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूह पनि ओरालो लागेका छन्। यद्यपि शुक्रबार मात्रै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर मूल्य १५–१५ प्रतिशतले बढेर प्रतिकित्ता ३९६ रुपैयाँ ७० पैसामा पुगेको छ। विपरीत रूपमा बुंगल हाइड्रोपावरको मूल्य १५ प्रतिशतले घट्दा एपोलो हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर र बुंगल हाइड्रोपावर सबैभन्दा धेरै कारोबार भएका कम्पनी बने।