काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक विकास कार्यक्रममा भने उक्त आयोजनाका लागि कुनै बजेट विनियोजन गरिएको छैन। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत भरतपुर, दाङ र सुर्खेत विमानस्थल तथा पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सगरमाथा विमानस्थल, दार्चुलाको गोकुलेश्वर विमानस्थल र जुम्ला विमानस्थलका लागि बजेट छुट्याएको छ। कार्यक्रमअनुसार त्रिभुवन विमानस्थलमा ई–गेट प्रणाली जडानका लागि ५ करोड, सगरमाथा विमानस्थल निर्माणका लागि १ करोड, गोकुलेश्वर विमानस्थल सुदृढीकरणका लागि १ करोड र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै भरतपुर विमानस्थल विस्तार तथा ईआईएसहित पूर्वाधार निर्माणका लागि ७५ करोड, जग्गा शोधभर्नाका लागि नेपाली सेनालाई २५ करोड, तुल्सीपुर विमानस्थलको धावनमार्ग १,५०० मिटर विस्तार गर्न २५ करोड तथा सुर्खेत विमानस्थलको धावनमार्ग थप ३०० मिटर विस्तार गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।