नेकपा: रास्वपासँग यो पटक हारेका हौं, फेरि प्रतिस्पर्धी शक्तिका रूपमा फर्किन्छौं

नेकपा: रास्वपासँग यो पटक हारेका हौं, फेरि प्रतिस्पर्धी शक्तिका रूपमा फर्किन्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग यसपटकको निर्वाचनमा पराजित भए पनि त्यो स्थायी हार नभएको भन्दै पुनः प्रतिस्पर्धी शक्तिका रूपमा उदाउने दाबी गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल ‘शरद’ले आवधिक निर्वाचनमा यो पटक मात्र हारेको उल्लेख गर्दै भविष्यमा फेरि सत्ताको दायाँ आसनमा अन्य दलहरू पनि पुग्न सक्ने भएकाले सत्तारुढ दल सचेत रहनुपर्ने बताए। उनले संसदीय संख्यामा सानो–ठूलो हुनु आवधिक निर्वाचनको परिणाम मात्र भएको उल्लेख गर्दै नेकपा विचारको शक्ति भएकाले सही विचार र समयानुकूल विकासले समाजलाई व्यापक रूपमा प्रभाव पार्न सक्ने धारणा राखे। दुलालले नेपालका प्रगतिशील, लोकतान्त्रिक तथा वामपन्थी जनमतको सम्मान गर्दै देशको नेतृत्व गर्ने सपना अझै कायम रहेको र पार्टी नवीन विचार, नेतृत्व तथा पहलकदमीसहित एकताबद्ध भएर अघि बढ्ने बताए। साथै, सरकारको नेतृत्व गरिरहेको रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्तावेजमा लोकतन्त्रको आधार कमजोर पार्ने संकेत देखिएको टिप्पणी गर्दै त्यसप्रति आफूहरू गम्भीर र सचेत रहेको उल्लेख गरे। यद्यपि उनले महाधिवेशनबाट निर्वाचित रास्वपाको नेतृत्व तथा केन्द्रीय समितिलाई बधाईसमेत दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार