इजरायल रोजगारीका लागि केयरगिभर प्रमाणपत्रको छानबिन, नक्कली कागजात पेस गर्नेलाई कारबाही हुने

इजरायल रोजगारीका लागि केयरगिभर प्रमाणपत्रको छानबिन, नक्कली कागजात पेस गर्नेलाई कारबाही हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रको सत्यता परीक्षण सुरु गरेको छ। तालिम नलिई नक्कली प्रमाणपत्र बनाउने तथा बिक्री गर्ने गुनासो आएपछि विभागले सबै प्रमाणपत्रमाथि विस्तृत छानबिन थालेको हो। इजरायलले २ हजार २ सय नेपाली केयरगिभरका लागि आवेदन आह्वान गरेपछि अंग्रेजी भाषा परीक्षामा १५ हजार ६ सय २६ जना सहभागी भए पनि १ हजार २ सय ३१ जना मात्रै उत्तीर्ण भएका थिए। त्यसपछि विभागले उनीहरूले पेस गरेका प्रमाणपत्र प्रमाणीकरणका लागि सीटीईभीटी, एनएभीटी तथा दर्ता भएका तालिम प्रदायक संस्थाबाट प्रशिक्षार्थीहरूको विवरण संकलन गरी अध्ययन गरिरहेको जनाएको छ। विभागका अनुसार केही संस्थाले छोटो अवधिमै अस्वाभाविक रूपमा धेरैलाई तालिम दिएको विवरण बुझाएकाले विशेष अनुसन्धान भइरहेको छ। यसअघि पनि इजरायल रोजगारीका लागि आवेदन दिने क्रममा ५०० भन्दा बढी आवेदकले मान्यता नपाएका संस्थाको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएपछि आवेदन रद्द गरिएको थियो भने केही संस्थाले प्रतिव्यक्ति ३० देखि ४० हजार रुपैयाँ लिएर अनिवार्य ३९० घण्टाको तालिम नै नदिई प्रमाणपत्र बिक्री गरेको तथ्य खुलेको थियो। विभागले तालिम नलिई झुट्टा विवरण पेस गर्ने आवेदक तथा गलत प्रमाणपत्र जारी गर्ने संस्था वा व्यक्तिविरुद्ध कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, सामाजिक सञ्जालमा ‘इजरायलका लागि केयरगिभर तालिम खुल्यो’ भन्दै भइरहेका प्रचारप्रसारमाथि पनि कडा निगरानी राखिएको विभागले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार