काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन तथा आधुनिकीकरण गर्ने तयारी गरेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा उनले सरकारी र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै नागरिकलाई प्रभावकारी सेवा दिन सकिने उल्लेख गर्दै हुलाकसँग सम्बन्धित कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको र सय दिनभित्र उल्लेखनीय प्रगति हासिल भएको दाबी गरे। उनले हुलाक सेवामा नीतिगत तथा संरचनागत सुधार अपरिहार्य रहेको, विद्यमान संरचनाको कार्यक्षमता बढाउनुपर्ने र आगामी वर्ष हुलाकलाई थप आधुनिक, प्रभावकारी तथा नागरिकमैत्री सेवाका रूपमा विकास गर्न सरकार गम्भीर रहेको बताए। मन्त्री तिमिल्सिनाले सरकारी हुलाक सेवाले मात्रै देशभरको पोस्टल सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न पर्याप्त नहुने भएकाले निजी क्षेत्रको सहभागिता आवश्यक रहेको स्पष्ट पार्दै सरकारले सबै काम आफ्नै नियन्त्रणमा राख्ने सोच नराखेको र सरोकारवालाका समस्या समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। साथै, उनले सम्बन्धित निकायका कर्मचारीलाई आगामी दिनमा हुलाक सेवालाई गर्व गर्न लायक संस्थाका रूपमा विकास गर्ने गरी काम गर्न निर्देशनसमेत दिए।