• २०८३ असार १६ गते मङ्गलवार
  • Preeti To Unicode

विदेशमा बसोबास गरिरहेका ४ निजामती कर्मचारीसँग स्पष्टीकरण माग

विदेशमा बसोबास गरिरहेका ४ निजामती कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ जना निजामती कर्मचारीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयका अनुसार स्वीकृत बिदा समाप्त भएपछि पनि उनीहरू कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएकाले कानुनी प्रक्रिया अघि बढाइएको हो। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको अस्थायी वा स्थायी आवासीय अनुमति लिन वा डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन दिन नपाइने कानुनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्वीकृत बिदा सकिएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने दायित्व पूरा नगरी अनुपस्थित रहेकाले उनीहरूले निजामती सेवा ऐन, २०४९ विपरीतको कार्य गरेको ठहर गरिएको छ। त्यसैले भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न निर्देशन दिइएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित तथा विदेशमा बसोबास गरिरहेका अन्य कर्मचारीको अवस्थाबारे पनि अध्ययन र खोजी कार्य तीव्र पारिएको जानकारी दिइन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार