सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट आउने पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले बढेको हो। गत वर्ष जुनमा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए भने कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुनमा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो। त्यसको तुलनामा यस वर्ष जुन महिनाको आगमन २२.०१ प्रतिशतले बढी रहेको छ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ४८ हजार २५४ जना सार्क मुलुकबाट आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन्। अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक आगमन भएकोमा चीनबाट ९ हजार ९९५, जापानबाट ९२५, दक्षिण कोरियाबाट ९१४ र थाइल्यान्डबाट ५१४ जना रहेका छन्। युरोपबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जसमा बेलायतबाट २ हजार ५ सय, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ जना छन्। अमेरिकाबाट ११ हजार ८३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९५ प्रतिशत हो। यसैगरी क्यानडाबाट १ हजार ११, ब्राजिलबाट १०४, ओसियानिया क्षेत्रबाट ३ हजार ९०, अफ्रिकाबाट २९२ तथा मध्यपूर्वबाट ६७४ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पछिल्ला महिनामा पर्यटक आगमन निरन्तर बढिरहेको छ। बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।