ल्हेन्दे खोलाको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन अस्थायी रूपमा बन्द

ल्हेन्दे खोलाको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा लेदोसहितको बाढी आएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आइतबार साँझदेखि अस्थायी रूपमा बन्द गरिएको छ। आयोजनाका प्रमुख सन्तोष अधिकारीका अनुसार खोलाको अवस्था सामान्य रहे सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिनेछ। गत वर्ष असार २४ गते आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएपछि मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न नदिन सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको हो। रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले खोलाको बहाव निरन्तर अनुगमन भइरहेको र अवस्था सुरक्षित देखिएमा उत्पादन पुनः सञ्चालनमा ल्याइने बताए। यता, भोटेकोशी नदीमा पानीको बहाव बढेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक तथा नयाँ आयातित सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ। स्थानीय जनप्रतिनिधिले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा नदी किनारमा सवारीसाधन नराख्न आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति भएको छैन। मैलुङ सडक जोखिममा रहेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साविकको सडक प्रयोग गर्न अनुरोध गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा नबस्न, यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा विपद्को अवस्था देखिएमा आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराउन प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार