राष्ट्रिय योजना आयोगको सुझाव : राष्ट्रिय गौरवका आयोजना २७ बाट १० वटामा सीमित गर्नुपर्ने

राष्ट्रिय योजना आयोगको सुझाव : राष्ट्रिय गौरवका आयोजना २७ बाट १० वटामा सीमित गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय योजना आयोगले हाल सञ्चालनमा रहेका २७ वटा राष्ट्रिय गौरवका आयोजनालाई घटाएर १० वटामा सीमित गर्न सुझाव दिएको छ। अर्थ समितिको सोमबार बसेको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले पर्याप्त पूर्वतयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएकाले धेरै आयोजना वर्षौँसम्म सम्पन्न हुन नसकेको बताए। उनका अनुसार राष्ट्रिय गौरवका आयोजना सीमित, रणनीतिक तथा राम्रो तयारीपछि मात्र घोषणा गरिनुपर्छ।

पन्थले निर्माणाधीन बबई सिंचाइ आयोजनाको उदाहरण दिँदै अध्ययन नगरी आयोजनाको कार्यक्षेत्र विस्तार गर्ने प्रवृत्ति रोक्नुपर्ने र विस्तृत अध्ययनपछि मात्रै विस्तार गर्नुपर्ने धारणा राखे। उनले निर्माणमा नदीजन्य पदार्थको अभाव हुन नदिन निर्माणजन्य सामग्रीसम्बन्धी कानुन तत्काल आवश्यक रहेको उल्लेख गर्दै अघिल्लो प्रतिनिधिसभामा अलपत्र परेको सम्बन्धित विधेयकलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे। साथै सार्वजनिक खरिद, वन तथा वातावरणसम्बन्धी कानुनबीच समन्वय आवश्यक रहेको र आयोजनाअन्तर्गतका केही सडक अनावश्यक रूपमा घुमाउरा भएकाले पुनःरेखांकन गरी घुम्ती घटाउनुपर्ने सुझाव पनि दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार