२०३० फिफा विश्वकप ६ देश र ३ महादेशमा, दक्षिण अमेरिकाबाट हुनेछ ऐतिहासिक सुरुआत

२०३० फिफा विश्वकप ६ देश र ३ महादेशमा, दक्षिण अमेरिकाबाट हुनेछ ऐतिहासिक सुरुआत

काठमाडौं । सन् २०३० को फिफा विश्वकप इतिहासमै पहिलो पटक ६ देश र ३ महादेशमा आयोजना हुने भएको छ। प्रतियोगिताको मुख्य आयोजना स्पेन, पोर्चुगल र मोरक्कोले गर्नेछन् भने विश्वकपको १०० औँ वार्षिकोत्सवको अवसरमा उद्घाटन चरणका तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछन्।

फिफाको प्रस्तावित तालिकाअनुसार जुन ८ र ९ मा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा शतवार्षिकी खेल हुनेछन्। त्यसपछि जुन १३ र १४ मा मोरक्को, पोर्चुगल र स्पेनमा मुख्य उद्घाटन समारोह तथा प्रतियोगिताका खेल सुरु हुनेछन्। फाइनल जुलाई २१ मा हुने अपेक्षा गरिएको भए पनि फिफाले पूर्ण खेल तालिका सार्वजनिक गरिसकेको छैन।

आयोजक राष्ट्रका रूपमा स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वे स्वतः विश्वकपका लागि छनोट भइसकेका छन्। बाँकी ४२ टोली भने महादेशीय छनोट प्रतियोगितामार्फत तय हुनेछन्।

हाल २०३० को विश्वकपमा ४८ टोली सहभागी हुने योजना छ, जुन २०२६ विश्वकपबाट लागू भएको ढाँचा हो। यद्यपि, फिफाले प्रतियोगितालाई ६४ टोलीसम्म विस्तार गर्ने प्रस्तावमाथि पनि अध्ययन र छलफल गरिरहेको जनाएको छ।

सन् १९३० मा उरुग्वेमा पहिलो पटक आयोजना भएको विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा यस संस्करणलाई विशेष रूपमा मनाइँदै छ। यही कारण पहिलो विश्वकपको आयोजक उरुग्वे, तत्कालीन उपविजेता अर्जेन्टिना र दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) को मुख्यालय रहेको पाराग्वेलाई एक–एक उद्घाटन खेल आयोजना गर्ने जिम्मेवारी दिइएको हो।

त्यसपछि हुने सन् २०३४ को फिफा विश्वकप भने साउदी अरेबियामा एकल आयोजकका रूपमा आयोजना हुनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार