लाइसेन्सका लागि मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको स्वास्थ्य प्रमाणपत्र मान्य हुने

लाइसेन्सका लागि मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको स्वास्थ्य प्रमाणपत्र मान्य हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षणलाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई अनुरोध गरेको छ। विभागअन्तर्गत सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईले गत असार ३२ गते जारी गरेको परिपत्रमा हालको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या भोग्नुपरेको उल्लेख गर्दै नयाँ व्यवस्थाले स्वास्थ्य परीक्षण प्रक्रियामा एकरूपता र पारदर्शिता कायम हुने जनाएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार गरिएको उक्त पत्राचारबाट चालक अनुमतिपत्रका लागि हुने स्वास्थ्य परीक्षण थप व्यवस्थित र प्रभावकारी हुने तथा सेवाग्राही लाभान्वित हुने विभागको अपेक्षा छ। यसैबीच, विभागले साउन १ गते नेपाल मेडिकल काउन्सिललाई पत्राचार गर्दै काउन्सिलमा दर्ता तथा इजाजत प्राप्त चिकित्सकहरूको अद्यावधिक विवरण उपलब्ध गराउन पनि आग्रह गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार