काठमाडौं । उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२/०८३ मा कुल १६ हजार १३९ मुद्दामध्ये ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको जनाएको छ। अदालतले दुई वर्ष तथा १८ महिना नाघेका सबै मुद्दा शून्यमा झार्न सफल भएको बताएको छ भने एक वर्ष नाघेका ३५३ मुद्दा अझै बाँकी रहेका छन्। मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पुराना मुद्दा व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै विकास निर्माण र राजस्व असुलीसम्बन्धी मुद्दालाई विशेष प्राथमिकता दिइएको बताए। चालु आर्थिक वर्षमा हालसम्म ७४० मुद्दा फछ्र्योट गरिएको र एक वर्ष नाघेका १२ थुनुवा मुद्दा मात्र बाँकी रहेको अदालतले जनाएको छ। मातहतका जिल्ला अदालतमध्ये सिन्धुपाल्चोकले ७७.४ प्रतिशत, रसुवाले ७५.६ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन् भने जिल्ला अदालत काठमाडौंको फछ्र्योट दर ४२.३ प्रतिशत रहेको छ, जुन सबैभन्दा कम हो।