टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा आउने

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा आउने

काठमाडौं ।काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। निर्माणाधीन केन्द्रको बुधबार स्थलगत अनुगमनपछि कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माण कार्य मंसिरअघि नै सम्पन्न गरी मंसिरदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिइन्। उनका अनुसार केन्द्र सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापन थप आधुनिक, व्यवस्थित र वातावरणमैत्री बन्नेछ।

डंगोलले हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने कार्य भइरहेका कारण प्रदूषण र स्वास्थ्य जोखिम बढेको उल्लेख गर्दै त्यसको समाधानका लागि आधुनिक स्थानान्तरण केन्द्र निर्माण भइरहेको बताइन्। उनका अनुसार केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गरिनेछ भने मेटेरियल रिकभरी फेसिलिटी (एमआरएफ) मार्फत जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोर पुनःप्रयोगका लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गरिनेछ।

उनले भविष्यमा जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने योजना पनि रहेको जानकारी दिँदै केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा समेत घट्ने अपेक्षा गरिएको बताइन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार