धनगढी । कैलालीमा प्रहरीले शुक्रबार विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार ५०० रुपैयाँसहित २३ वर्षीय अमन चौधरी र २७ वर्षीय निराजन चौधरीलाई पक्राउ गरेको हो। यस्तै, मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय विनोद बिष्ट र २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन्।
त्यसैगरी, धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकस्थित एक कोठाबाट ४ ग्राम ३२३ मिलिग्राम खैरो हेरोइनसहित आयुष सिंह, जयबहादुर भण्डारी, टेकेन्द्र बस्नेत र श्रीमल चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले श्रीमल चौधरीको कोठामा खानतलासी गर्दा उनीहरू लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला परेको जनाएको छ। टिकापुर नगरपालिका–१ समितिपुरबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय सागर खत्री र एक १८ वर्षीय किशोर पक्राउ परेका छन् भने गोदावरी नगरपालिका–५ गेटा सुकुम्बासी टोलबाट ३७० ग्राम गाँजाजस्तो देखिने धुलो पदार्थसहित ४५ वर्षीय खडक डंगौरा पक्राउ परेका छन्। साथै, धनगढी–१७ पथरी पुलबाट ३३५ मिलिग्राम खैरो हेरोइनसहित राजेश राना र किरण राना तथा धनगढी–७ जीपी चोकबाट २३८ मिलिग्राम खैरो हेरोइनसहित विकास जेठारा र विवेकराज उपाध्यायलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।