भाइरल भएका रोल्पाका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क पढ्न पाउने

भाइरल भएका रोल्पाका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क पढ्न पाउने

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ टोलबाङका सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीले अब उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्। पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गरेको उनीहरूको भिडियो व्यापक रूपमा चर्चामा आएपछि स्थानीय एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले कक्षा ६ सम्म नि:शुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने कक्षा ७ देखि स्नातक तहसम्मको अध्ययनको सम्पूर्ण जिम्मेवारी रुन्टीगढी गाउँपालिकाले लिने घोषणा गरेको छ। समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन, भिडियो खिच्ने लोकेन पुन तथा बालिकाका अभिभावकबीच भएको सहमतिअनुसार उनीहरूको शिक्षाको सम्पूर्ण व्यवस्था सुनिश्चित गरिएको हो। हाल तीनै बालिका सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत छन्। उनीहरूमध्ये सियाँ ३ वर्षकी तथा दुई मनजीता ५ र ६ वर्षका छन्। तीनै बालिकाका बुबा रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् भने दुई जना एउटै परिवारका र एक जना छिमेकी हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार