काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ। निम्स दाइका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्। उनका अनुसार निम्स पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै चुनौतीपूर्ण तथा जोखिमपूर्ण उद्धार अभियानपछि बेस क्याम्पमा ल्याइएको हो। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच सञ्चालन गरिएको उद्धार अभियानको नेतृत्व वरिष्ठ आरोही मिङ्मा जीले गरेका थिए भने उनलाई सिरबाज खान तथा फिल्डमा खटिएको उद्धार टोलीले पूर्ण साथ दिएको जनाइएको छ।