सिन्धुलीको फिक्कल–२ मा तीन दिनअघि बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएको घटनामा पीडित पक्ष र बस व्यवसायी कम्पनीबीच सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार बुधबार साँझ भएको सहमतिसँगै तीन दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा आएको छ।
सडक छेउमा रोकेर राखिएको कारलाई तीव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल–७ का पूर्ववडाध्यक्ष दिलकुमार लामा, गोलञ्जोर गाउँपालिका–१ डुङ्भञ्ज्याङका एक्साभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्कका सुजन बलमपाकी मगर सुनकोशी नदीमा बेपत्ता भएका थिए। सहमतिअनुसार कारको बीमा दाबीको रकम सम्बन्धित परिवारलाई उपलब्ध गराइने, कानुनबमोजिम प्राप्त हुने ५ लाख रुपैयाँ परिवारलाई दिइने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने तथा सन्तानको अध्ययनको जिम्मेवारी लिइनेछ। साथै गणेश हिमाल–तराई यातायात प्रालिले प्रत्येक पीडित परिवारलाई थप २ लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ। यसैबीच, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गोताखोरसहितको टोलीले बेपत्ता तीन जनाको खोजी कार्य निरन्तर जारी राखेको भए पनि उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।