रौतहटमा पेट्रोल ट्याङ्करमा आगलागी, मानवीय क्षति भएन

रौतहटमा पेट्रोल ट्याङ्करमा आगलागी, मानवीय क्षति भएन

रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको र त्यसलगत्तै आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुर तथा चन्द्रपुर र निजगढ नगरपालिकाका दमकलसहितको टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा नष्ट भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए। दुर्घटनाका कारण केही समय प्रभावित भएको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ। प्रहरीले ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार