काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा गएराति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) का विभिन्न संरचनामा क्षति पुगेको छ। सशस्त्र प्रहरीका अनुसार राति करिब १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००–३०० मिटर अग्लो डाँडाबाट पहिरो झरेको थियो। पहिरोसँगै उछिट्टिएका ढुंगाले पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटाएको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल पारेको छ। साथै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ भने राष्ट्रिय झण्डा राखिएको पोल, बाथरुम, जिन्सी स्टोर भवन तथा मुख्य गेट अगाडिको सिँढीमा पनि क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ।