• २०८३ साउन २२ गते शुक्रवार
  • Preeti To Unicode

एम्बुलेन्सदेखि सरकारी गाडीसम्म : कोशीमा गाँजा तस्करीको नयाँ शैली, बढ्दो चुनौती

एम्बुलेन्सदेखि सरकारी गाडीसम्म : कोशीमा गाँजा तस्करीको नयाँ शैली, बढ्दो चुनौती

जीवन बचाउने आपत्कालीन सेवाका लागि प्रयोग हुने एम्बुलेन्स पछिल्ला वर्षहरूमा कोशी प्रदेशमा गाँजा तस्करीको माध्यम बन्दै गएको घटनाले सुरक्षा निकायलाई थप चुनौती दिएको छ। धरान, धनकुटा र सुनसरीमा भएका एकपछि अर्को घटनामा ठूलो परिमाणमा गाँजा एम्बुलेन्सबाट बरामद भए पनि अधिकांश घटनामा चालक फरार भएका छन्। प्रहरीका अनुसार तस्करहरूले सुरक्षा जाँच सहज रूपमा पार गर्न सकिने भएकाले एम्बुलेन्स, दूध बोक्ने गाडी, फलफूल ढुवानी गर्ने ट्रक, निजी सवारी र सरकारी गाडीसम्म प्रयोग गर्न थालेका छन्।

पछिल्ला पाँच आर्थिक वर्षमा कोशी प्रदेशबाट ७२ हजार केजीभन्दा बढी गाँजा बरामद भएको छ भने गाँजा कारोबार र ओसारपसारमा संलग्न ८६३ जना पक्राउ परेका छन्। उनीहरूमध्ये ४४ जना भारतीय नागरिक रहेका छन्। धनकुटा, भोजपुर, संखुवासभा र आसपासका पहाडी जिल्लाबाट संकलन गरिएको गाँजा सुनसरी हुँदै भारतको बिहार राज्यतर्फ तस्करी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। खुला सीमा, राजमार्ग र सीमावर्ती नाकाको सहज पहुँचका कारण सुनसरी अहिले गाँजा तस्करीको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा स्थापित हुँदै गएको प्रहरी अधिकारीहरूको भनाइ छ।

तीन वर्षअघि सरकारी नम्बर प्लेट भएका कानून तथा न्याय मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गाडीबाट पनि ठूलो परिमाणमा गाँजा बरामद भएको घटनाले तस्करहरूको सञ्जाल र पहुँच कति संगठित छ भन्ने संकेत गरेको थियो। सुरक्षा अधिकारीहरूका अनुसार उत्पादनदेखि भण्डारण, ढुवानी र सीमापार निकासीसम्म संगठित समूह सक्रिय छन्। उनीहरूले नयाँ–नयाँ शैली अपनाएर प्रहरीको निगरानी छल्ने प्रयास गरिरहेका छन्।

यता, गाँजा नियन्त्रणसँगै यसको वैधानिकीकरणको बहस पनि चर्किएको छ। गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने विधेयक पारित गरिसकेको छ भने कोशी प्रदेशले यस विषयमा अध्ययन गर्ने जनाएको छ। विज्ञहरूले अवैध खेती फडानी मात्र पर्याप्त नहुने, उत्पादनदेखि तस्करीसम्मको सञ्जालमाथि प्रभावकारी कानुनी कारबाही र स्पष्ट नीति आवश्यक रहेको औँल्याएका छन्। प्रहरीका अनुसार संवेदनशील सेवाका साधनको दुरुपयोग बढ्दै जाँदा लागूऔषध नियन्त्रण अभियान झन् जटिल बन्दै गएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार