नेपालमा रोकिएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने

नेपालमा रोकिएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने

काठमाडौं । सरकारले सुरक्षा संवेदनशीलता देखाउँदै नेपालमा आयोजना गर्न रोक लगाएको इन्टरनेसनल एसोसिएसन फर तिब्बेन स्टडिज (आईएटीएस) को १७औँ सम्मेलन अब अगस्ट २३ देखि २९ सम्म भर्चुअल माध्यमबाट हुने भएको छ।

काठमाडौं विश्वविद्यालय सहआयोजक रहेको सम्मेलनबाट विश्वविद्यालयले हात झिकेपछि आईएटीएसको बोर्डले नै सम्मेलन सञ्चालन गर्ने निर्णय गरेको हो। आयोजकका अनुसार ७ सयभन्दा बढी सहभागीले हवाई टिकट र होटल बुकिङ गरिसकेका थिए।

अन्तिम समयमा सम्मेलन रोकिँदा नेपाललाई आर्थिक तथा प्रतिष्ठागत क्षति पुग्ने आयोजकले जनाएको छ। सम्मेलन आयोजना गर्ने सहमति सन् २०२३ मै भएको र त्यसयता कुनै आपत्ति नआएको पनि आईएटीएसको दाबी छ।

आयोजकले शिक्षामन्त्री सस्मित पोखरेलसँग सम्मेलन सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरे पनि प्रतिक्रिया नआएपछि अनलाइनमार्फत कार्यक्रम गर्ने निर्णय गरेको हो। सहभागीहरूले अनलाइनबाटै शोधपत्र तथा प्रस्तुति प्रस्तुत गर्न सक्नेछन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार