काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। साउनको सोमबार भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसी पूजा, आराधना तथा दान गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण अन्तिम सोमबार पशुपतिनाथमा व्रतालु तथा श्रद्धालुको उल्लेख्य भीड लागेको हो।
साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गरेका छन्। साउनका अन्य सोमबार व्रत बस्न नपाए पनि अन्तिम सोमबार व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले बिहानैदेखि भक्तजनहरू पशुपतिनाथमा पूजा गर्न लाइनमा बसेका थिए।
यसैगरी, बोलबम तीर्थालुहरूले काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा जलार्पण गरेका छन्। बोलबम तीर्थालुको पनि बिहानैदेखि पशुपतिनाथलगायत देशभरका प्रमुख शिवालयमा उल्लेख्य उपस्थिति रहेको छ। उनीहरूले जल चढाएर भगवान् शिवको पूजा तथा आराधना गरेका छन्।
पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबार पूजा गर्ने तथा बोलबम मेला भर्न आउने श्रद्धालुको ठूलो भीड लागेको छ। साउनको अन्तिम सोमबारलाई विशेष धार्मिक दिनका रूपमा लिइने भएकाले देशभरका शिवालयमा दिनभर नै भक्तजनको चहलपहल रहने देखिएको छ।