• २०८३ साउन २६ गते मङ्गलवार
  • Preeti To Unicode

श्रमदानबाटै सडक मर्मत गर्दै जोरायलका स्थानीय

श्रमदानबाटै सडक मर्मत गर्दै जोरायलका स्थानीय

डोटी । जोरायल गाउँपालिका–६ का स्थानीयवासीले वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडकहरू श्रमदानबाटै मर्मत गरी सञ्चालनमा ल्याएका छन्। सडक अवरुद्ध भएपछि दैनिक आवतजावतसँगै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्न वडा कार्यालय पुग्न र बिरामीलाई उपचारका लागि लैजान समस्या भएपछि स्थानीयवासी आफैं सडक मर्मतमा जुटेका हुन्।

सोमबार स्थानीय रामबहादुर बोहरा हातमा फाउरो बोकेर सानीगाड–सेरा सडक मर्मत गर्न निस्किए। उनीसँगै महिला तथा पुरुषसहित स्थानीयवासीको समूह पनि गैँटी, बेल्चा, घन र साबेल बोकेर सडकमा पुगेको थियो। समूहले सडकमा खसेको पहिरो र ढुंगामाटो पन्छाएर अवरुद्ध सडक खुलाएको हो। सडक खुलेपछि स्थानीयवासीले ताली बजाउँदै खुसी व्यक्त गरेका थिए।

रामबहादुरका अनुसार वर्षाका कारण वडा क्षेत्रभित्रका अधिकांश शाखा सडक अवरुद्ध भएपछि स्थानीयवासीले सामूहिक श्रमदानमार्फत सडक सञ्चालनमा ल्याएका हुन्। ‘वर्षाका कारण सडक अवरुद्ध भएपछि ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न वडा कार्यालयसम्म पुग्न पनि समस्या भयो,’ उनले भने, ‘त्यसैले हामी वडावासी मिलेर श्रमदानबाटै सडक मर्मत गरेका हौं।’

वडाका विभिन्न बस्ती वडा कार्यालयबाट टाढा रहेकाले ज्येष्ठ नागरिक तथा बिरामीलाई हिँडेर आउन समस्या हुने गरेको स्थानीयवासी बताउँछन्। स्थानीय डम्मरा साउँदका अनुसार सानीगाड–सेरा, निरौली–बसौटी, खसरे–अनरकट्टे, मड्यौल–दह र डाडागाउँलगायतका सडक स्थानीयवासीको श्रमदानबाट मर्मत गरिएको छ। वडा कार्यालयको संयोजनमा सडक मर्मतको काम गरिएको उनले बताइन्।

‘अहिले यी सडकमा मोटरसाइकलसम्म चल्न सक्ने अवस्था बनेको छ,’ साउँदले भनिन्। उनका अनुसार जारिमघाट खोलामा पुल नहुँदा जीपमार्फत आवतजावत गर्न भने अझै समस्या छ। मोटरसाइकलबाट भए पनि ज्येष्ठ नागरिक र बिरामीलाई ओहोरदोहोर गर्न केही सहज भएको उनले बताइन्। वर्षा भइरहेकाले फेरि कुनै सडक अवरुद्ध भए पनि स्थानीयवासी मिलेर श्रमदानबाटै सडक खुलाउने उनको भनाइ छ।

स्थानीयवासीले श्रमदान गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन्। रामबहादुरका अनुसार सडक अवरुद्ध हुँदा प्रत्यक्ष समस्या स्थानीयवासीलाई नै हुने भएकाले अरूको भर पर्नुभन्दा आफैं जुटेर काम गर्नु आवश्यक छ। वडा कार्यालयले सञ्चालन गरेको ‘आफ्नो ठाउँ, आफैँ बनाऔँ’ अभियानअन्तर्गत स्थानीयवासीले श्रमदान गरिरहेको उनले बताए।

सडक अवरुद्ध भयो, दुःख हामीलाई नै भइरहेको हुन्छ। कसलाई कुरेर बस्नु, कसलाई गाली गरेर बस्नु?’ रामबहादुरले भने, ‘आफ्नो गाउँठाउँको विकासका लागि सबैले श्रमदान गर्नुपर्छ। हामी हरेक कुरामा अरूले गरिदिऊन् भन्ने अपेक्षा गर्ने अवस्थामा पुगेका छौं।’

स्थानीयवासीका अनुसार अहिले सबैभन्दा ठूलो समस्या जारिमघाट खोलामा रहेको छ। खुटिया–दिपायल सडकअन्तर्गत पर्ने जारिमघाटमा पुल निर्माण नहुँदा वर्षायाममा खोला तर्न समस्या हुने गरेको छ। खोलामा पानीको सतह बढेपछि आवतजावत नै प्रभावित हुने गरेको रामबहादुरले बताए। पुल निर्माण नहुँदा मुख्य बजारसँग वडावासीको सम्बन्धसमेत प्रभावित भएको उनको भनाइ छ।

जनश्रमदानबाट सडक मर्मत, सम्भार तथा ढल निकासको काम गरिएपछि वडाका अधिकांश सडकमा मोटरसाइकल सञ्चालन गर्न सकिने अवस्था बनेको वडा अध्यक्ष गणेश बोहराले बताए। वडा कार्यालयको आह्वानमा स्थानीयवासीले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि वर्षाका कारण सडक अवरुद्ध भए स्थानीयवासीले श्रमदान गर्ने विश्वास व्यक्त गरे। वडा अध्यक्ष बोहराले वडाभित्र कुनै सडक अवरुद्ध भए तत्काल वडा कार्यालयलाई जानकारी गराउन स्थानीयवासीलाई आग्रह गरेका छन्। वडा कार्यालयको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै जनप्रतिनिधि र कर्मचारीसमेत उपस्थित भएर सक्दो सहयोग गर्ने उनले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार