काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्। शुक्रबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति सरकार खुसी नरहेको बताएका हुन्। ‘मेरो गैरहाजिरीमा प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको छ, त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। त्यसप्रति हामी खुसी छैनौं,’ उनले भने, ‘वि आर नट ह्याप्पी।’
गत बुधबार सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरीका पोशाक र अन्य सामग्री खरिदमा अनियमितता भएको सम्बन्धमा परेको उजुरीमाथि छलफल भएको थियो। बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए भने गृहमन्त्री गुरुङलाई पनि आमन्त्रण गरिएको थियो। बैठकमा सांसद सुनारले प्रहरी पोशाक तथा जुत्ता खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै छुट्टै छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए।
सुनारले खरिद प्रक्रियामा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक कार्की जिम्मेवार रहेको दाबी गर्दै नैतिकताको आधारमा जिम्मेवारीबाट हट्नुपर्ने बताएका थिए। उनले छानबिन निष्पक्ष बनाउन सम्बन्धित अधिकारीलाई निलम्बन तथा बर्खास्त गर्नुपर्ने धारणा राख्दै अख्तियारमा मुद्दा चलिरहेको भन्दै विषयलाई पन्छाउन नमिल्ने बताएका थिए। उनको प्रस्तुतिको शैलीप्रति भने सोही दिन सार्वजनिक लेखा समितिको बैठकमै विरोध भएको थियो।
यसबारे गृहमन्त्री गुरुङले आरोप लाग्दैमा त्यसलाई पुष्टि भएजस्तो गरी प्रस्तुत गर्नु उचित नहुने बताएका छन्। ‘आरोप लाग्न सक्छ। त्यसलाई पुष्टि भए जसरी करार गर्नु उचित होइन,’ उनले भने। गृहमन्त्रीको यो भनाइसँगै प्रहरी पोशाक खरिदसम्बन्धी अनियमितताको छानबिनसँगै संसदीय समितिमा संवैधानिक तथा संस्थागत मर्यादा कायम गर्ने विषयसमेत चर्चामा आएको छ।