काठमाडौँ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको दिनको सम्झनामा आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदैछ। दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगलगायत विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन्।
विसं २०६४ साउन ५ गते संसद्बाट सूचनाको हकसम्बन्धी ऐन पारित भएको थियो। ऐनमा कानुन पारित भएको ३० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था भएअनुसार २०६४ भदौ ३ गतेदेखि ऐन कार्यान्वयनमा आएको हो।
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले उक्त कानुन निर्माण गरिएको हो।
राष्ट्रिय सूचना आयोगका अनुसार सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व कायम गर्न तथा सुशासनको प्रत्याभूति गराउन सूचनाको हक अपरिहार्य छ। नागरिकले यस हकको निर्वाध प्रयोग गर्न पाएको अवस्थामा मात्र मुलुकमा दिगो विकास र जनमुखी शासन प्रणालीको सुदृढीकरण सम्भव हुने आयोगले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेको छ।