विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौँ ।काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा सूचनाका आधारमा खैरो हेरोइन, ब्राउनसुगर तथा नियन्त्रित लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट ५ सय ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित झापा घर भएका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बुधबार साँझ उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट ५ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २३ वर्षीय घनश्याम बस्नेत पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो। झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट पनि १ ग्राम ५५ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुबास राजवंशी पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट ६ सय मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ट्रामाडोल ९ सय ४१ ट्याब्लेट, डाइक्लोमाइन १ हजार २ सय ३० ट्याब्लेट र नगद ५३ हजार २ सय १० रुपैयाँसहित मोरङ घर भएका २६ वर्षीय निकेश माझीसहित चार जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट समेत खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको को.३६ प ५५४७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट ३ सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २९ वर्षीय प्रेमबहादुर डाँगी र २९ वर्षीय वीरबहादुर चौधरी पक्राउ परेका छन्। त्यस्तै, लमही नगरपालिका–५ सुनखोली गाउँबाट ५ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारत घर भएका २३ वर्षीय नसिव अहमद पक्राउ परेका छन्।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट ५ सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र ६ हजार रुपैयाँ नगदसहित शिवराज नगरपालिका–९ का २२ वर्षीय अर्जुन सुनारसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बहादुरगन्जबाट खटिएको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेटसहित धादिङको धुनीबेँसी नगरपालिका–२ घर भएका २९ वर्षीय सुरज लुइटेल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–१६ स्वामीचोकका २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामाडोल ५ सय ४८ ट्याब्लेटसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो। पक्राउ परेकाहरूविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार