अख्तियारलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्न दिन सरकार प्रतिबद्ध : मन्त्री गौतम

अख्तियारलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्न दिन सरकार प्रतिबद्ध : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संविधान र कानुनले दिएको अधिकारको सीमाभित्र रहेर पूर्ण स्वतन्त्र तथा स्वायत्त रूपमा काम गर्न दिन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा मन्त्री गौतमले आयोगको संवैधानिक मर्यादा र कानुनी अधिकार क्षेत्रको पूर्ण सम्मान गर्ने स्पष्ट पारिन्। उनले आयोगको अनुसन्धान तथा अभियोजन कार्यमा सरकारका तर्फबाट आवश्यक सहयोग निरन्तर रहने बताइन्।

समिति बैठकमा सांसदहरूले संवैधानिक निकायका पदाधिकारीलाई प्रधानमन्त्रीको सचिवालयबाट बोलाएर केरकार गरिएको विषयसमेत उठाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयबाट बोलाइएमा नजान सुझाव दिएका थिए। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अख्तियारलाई कुनै हस्तक्षेपबिना संविधान र कानुनअनुसार स्वतन्त्र रूपमा काम गर्न दिन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याइन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार