रौतहट। कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। ती महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै घरमा लगेर हेरचाह गरेपछि प्रहरीको समन्वयमा सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिका बेपत्ता भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको कमान्डमा नेपाल प्रहरीसहित सुरक्षा निकायले रातभर खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो भने नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ। बारा, सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनापछि कलैयाबाट समेत बालिका बेपत्ता भएपछि स्थानीयमा त्रास बढेको थियो। तर, बिन्दी सकुशल फेला परेपछि परिवार र स्थानीयले राहत महसुस गरेका छन्।