फोहोरका कारण कोल्पु खोला ‘कालु खोला’, कृषि र पशुपालन संकटमा

फोहोरका कारण कोल्पु खोला ‘कालु खोला’, कृषि र पशुपालन संकटमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर सिसडोल–बञ्चरेडाँडामा विसर्जन गर्न थालेपछि धादिङको धुनिवेशी र नुवाकोटको ककनी क्षेत्रको वातावरणमा गम्भीर असर परेको स्थानीयले बताएका छन्। २१ वर्षअघि कलकल बग्ने कोल्पु खोला अहिले फोहोरबाट निस्कने विषालु रसायनयुक्त लिचेटका कारण कालो बनेको छ। खोलामा लिचेट मिसिएपछि जलचर तथा अन्य जीवजन्तुको अस्तित्वसमेत संकटमा परेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार पहिले कोल्पु खोलामा पौडी खेल्ने, माछा मार्ने र खोलाको पानी प्रयोग गर्ने गरिन्थ्यो। अहिले भने खोलाको पानी छुनसमेत नसकिने अवस्था आएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का फोहोरमैला व्यवस्थापनसम्बन्धी वैज्ञानिक डा. रवीन्द्र ढकालका अनुसार लिचेटमा रोगजनक जीवाणु, धातु तथा माइक्रोप्लास्टिकको मात्रा हुन सक्ने भएकाले यसले मानिस, पशुपन्छी र वनस्पतिमा प्रत्यक्ष असर पार्न सक्छ।

फोहोरको असर कृषिमा समेत गम्भीर देखिएको छ। धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका विभिन्न वडाका किसानले धान, गहुँ, मकै, उखु तथा फलफूलको उत्पादन घटेको बताएका छन्। कतिपय किसानका अनुसार खेतमा लिचेट मिसिएको पानी पुगेपछि धानमा गेडा नलाग्ने र फलफूल बाहिरबाट राम्रो देखिए पनि भित्र कुहिने समस्या देखिएको छ। पहिले आफ्नै खेतबारीको उत्पादनले परिवार चलाउने किसान अहिले उत्पादन घटेपछि बजारबाट अन्न किनेर खान बाध्य भएका छन्।

वैज्ञानिकहरूले फोहोर र प्लास्टिकका कारण माटोको उर्वरा क्षमता घटेको बताएका छन्। माटोमा प्लास्टिक मिसिँदा पानीको प्रवेशमा अवरोध हुने भएकाले उत्पादनमा कमी आउन सक्ने डा. ढकालको भनाइ छ। स्थानीय जनप्रतिनिधिका अनुसार पहिले २० मुरीसम्म धान फल्ने खेतमा अहिले डेढदेखि दुई मुरीसम्म मात्र उत्पादन हुने अवस्था आएको छ। उत्पादन घटेपछि कतिपय किसानले खेती गर्नसमेत छाडेका छन्।

फोहोरका कारण पशुपालन पनि प्रभावित भएको स्थानीयको गुनासो छ। बाख्रा, गाई र भैंसी बिरामी पर्ने तथा मर्ने गरेको उनीहरूले बताएका छन्। फोहोरमा सिनो खाएर गाउँ पस्ने कुकुरले पशुचौपायालाई टोक्दा रोग फैलिने समस्या पनि रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। कृषि तथा पशुपालनबाट हुने आम्दानी घटेपछि स्थानीयको जीविकोपार्जनमा समेत प्रत्यक्ष असर परेको छ।

फोहोर प्रभावित क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल तथा पशुजन्य उत्पादन बिक्री गर्नसमेत समस्या भएको स्थानीय बताउँछन्। फोहोरको क्षेत्रमा उत्पादन भएको भन्दै उपभोक्ताले खरिद गर्न नचाहने गरेका कारण किसान थप मारमा परेका छन्। यसले उत्पादन घट्नुका साथै बजारमा उत्पादनको विश्वाससमेत कमजोर बनाएको छ।

यति ठूलो समस्या देखिए पनि प्रभावित किसानले पर्याप्त राहत तथा क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्। स्थानीय जनप्रतिनिधिले सरकारसँग राहत र क्षतिपूर्तिको माग गर्दै आए पनि समस्या समाधान हुन नसकेको बताएका छन्। वैज्ञानिकहरूले भने लिचेटलाई वैज्ञानिक प्रविधिबाट प्रशोधन गरी वातावरणमा असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।

सिसडोलमा १७ वर्षसम्म फोहोर विसर्जन गरेपछि चार वर्षअघि बञ्चरेडाँडामा फोहोर विसर्जन सुरु गरिएको थियो। तर बञ्चरेडाँडामा पनि फोहोरको चुली बढ्दै जाँदा सिसडोलकै जस्तो अवस्था देखिन थालेको छ। कोल्पु खोलामा बगिरहेको लिचेट, घट्दो कृषि उत्पादन, पशुपालनमा परेको असर र स्थानीयको रोजगारी तथा आम्दानी गुम्दै गएको अवस्थाले बञ्चरेडाँडा क्षेत्रको फोहोर व्यवस्थापन दीर्घकालीन र वैज्ञानिक ढंगले गर्नुपर्ने आवश्यकता देखाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार