सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दका अनुसार आगलागी भएको खबर प्राप्त भए पनि हालसम्म क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन। टेलिफोन सम्पर्कमा समस्या भएका कारण घटनाको विस्तृत विवरण र आगलागीको कारणसमेत खुल्न बाँकी रहेको उनले बताए। स्थानीयका अनुसार गाउँपालिकाको कार्यालयमा महत्त्वपूर्ण कागजात तथा स्रेस्ता राखिएको कोठामा आगलागी भएको छ। प्रहरीले घटनाबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।