म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ। दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि पुल भासिने जोखिम बढेको हो। स्थानीयवासीका अनुसार पुलको मङ्गला गाउँपालिकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरेको छ भने पहुँचमार्गसमेत साँघुरिएको छ। पुलबाट यात्रुवाहक सवारीसाधनसँगै जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रकसमेत आवतजावत गर्ने भएकाले जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम रहेको छ। पुल भासिएमा मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँगको प्रत्यक्ष यातायात सम्पर्क प्रभावित हुने स्थानीयको भनाइ छ।
तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र ६ मिटर फराकिलो उक्त पुल रु. २ करोड ६ लाख लागतमा २०७६ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो। मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला भएकाले वर्षायाममा बाढीको जोखिम रहने गरेको छ। पुल संरक्षणका लागि पूर्वाधार विकास कार्यालयले शनिबारदेखि नै काम सुरु गरेको जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँका अनुसार डोजर परिचालन गरी खोला डाइभर्सन गर्ने तथा पर्खाल निर्माण गरेर पुलको पिलर र पहुँचमार्ग संरक्षण गर्ने काम भइरहेको छ। जोखिमयुक्त अवस्थामा रहेकाले पुलबाट यात्रा गर्दा सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ।